
तीन वर्षअघि बनेको फिल्म ´हिम्मत´ चलाउने पालो यो साता पनि नआएपछि फिल्मकी निर्मात्री नायिका रेखा थापा अब टुँडीखेलमा लगेर फिल्मको प्रिन्ट जलाउने विचारमा छिन्। ´हिजोसम्म हाम्रो फिल्म चल्ने पक्का थियो, आज अर्कै चल्यो। यो के नियम हो मलाई थाहा छैन, अब फिल्म चलाउन नपाइने जस्तो लाग्यो। यस्तै हो भने टुँडीखेलमा लगेर फिल्मको प्रिन्ट जलाइदिन्छु´ रेखाले दैनिकीडटकमलाई भनिन्। ´शुक्रबारदेखि फिल्म चल्ने पक्का भयो, यसो समाचार निकाल्दिनु पर्यो है,´ बिहीबार बेलुकीसम्म रेखाका निर्माता पति छवि ओझा पत्रकारहरूलाई भनिरहेका थिए। तर, शुक्रबार ´हिम्मत´ को सट्टा राजधानीका हलमा नारायण पुरीको फिल्म ´मृत्युञ्जय´ चल्यो। यही फिल्म राजधानीमा चलाउनका लागि रेखा– छवि हलवालालाई मुद्दा हाल्ने तयारीसमेत गरेका थिए। तर, ´गिरफ्तार´ पछि चलाउने भन्ने सहमति भएपछि मुद्दा हालेका थिएनन्। निर्माता संघ र चलचित्र संघको सिफारिसमा चलचित्र विकास वोर्डले फिल्म चलाउने वतावरण वनाईदिए पनि अन्तिम समयमा प्रदर्शकले धोका दिएको ओझाले वताए। ´नियम कानुनको पालना नगर्दा पनि राज्यले सजाएँ दिन सक्दैन भने के काम गर्नु,´ फिल्मका प्रस्तुतकर्ता छविले पनि फिल्म जलाउने बताए। ´कुनै संघसंस्थाले पनि न्याय दिलाउन सकेन। अब सबैलाई टुँडिखेलमा जम्मा पारेर प्रिन्टमा आगो लगाईदिन्छौं´ काठमाडौंको विश्वज्योतीलगायतका हलमा फिल्म चलाउने उद्देश्यले तीन वर्षदेखि ´क्यू´ मा बसे पनि आफूमाथि पटक पटक–धोका भएको उनले बताए। ´वोर्डका अध्यक्षले नै फिल्म चल्ने निश्चित भयो भन्दै नयाँ प्रिन्ट वनाउन लगाएका हुन्। तर, प्रदर्शकको मनोपोली सामु वोर्ड पराजित भयो,´ आफूमाथि अन्याय भएको दुःख पोख्दै छविले भने। निर्माता ओझाले वोर्डको आश्वासनमा फिल्म चलाउने तयारी गरेको वताए पनि वोर्डका सदस्य केपी पाठकले भने व्यवसायिक कार्यमा वोर्डले हस्तक्षेप गर्न नमिल्ने बताए। ´कुन फिल्म चलाउने भन्ने कुराको निर्णय वोर्डले गर्दैन। पहिला सेन्सर भएकालाई मौका दिनुपर्छ भनिएको हो, प्रदर्शकले नदिन पनि सक्छ´ वोर्डले लागु गरेको नयाँ नियमको विषयमा उनले भने। कसैलाई अन्याय भएको गुनासो आए मिलाउन प्रयत्न गर्ने उनले वताए। ´हिम्मतको सम्बन्धमा कुनै लिखित निवेदन नआएकोले केही भन्न मिल्दैन,´ पाठकले भने।
No comments:
Post a Comment